अविश्वास प्रस्ताव पारित, प्रधानमन्त्री इमरान खान पदमुक्त

मूल पत्रिका
२७ चैत्र २०७८, आईतवार १०:४९

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । संसदले अविश्वासको प्रस्ताव पारित गरेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन् । आइतबार मध्यराति पाकिस्तानको संसद्‌ (राष्ट्रिय सभा)मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध खसेको थियो ।  प्रधानमन्त्री बनेका खानलाई सत्तामा रहिरहन संसद्का ३४२ मध्ये १७२ सांसदको मत आवश्यक थियो । तर यसअघि सरकारलाई साथ दिएको मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) विपक्षी गठबन्धनमा आबद्ध भएपछि खान नेतृत्वको सरकारको पक्षमा १६४ सदस्य मात्र थिए ।

अविश्वास प्रस्ताव पारित भएपति पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शाहबाज सरिफले पाकिस्तानले पुनः संविधान र कानुनलाई स्थापित गर्न चाहेको बताएका छन् । पाकिस्तानको इतिहासमै पहिलोपटक पूर्व क्रिकेटर प्रधानमन्त्री खान अविश्वासको प्रस्ताव पारित भएर पदमुक्त भएका हुन् । यसअघि सन् २००६ मा सौकात अजिज र १९८९ मा बेनेजर भुट्टोले प्रस्तावको सामना गरेपनि पदमुक्त हुन परेको थिएन ।  अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै सदिकले आइतबार दिउँसो २ बजे नयाँ प्रधानमन्त्रीको नाम पेश हुन सक्ने बताए ।

प्रधानमन्त्री खान पदमुक्त भएसँगै अबको पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सेहबाज सरिफलाई अघि सारिने देखिएको छ । सन् २०१८ को अगस्टमा प्रधानमन्त्री खानले आफूलाई सत्ताबाट हटाउने तयारी थालेपछि संसद विघटनका लागि राष्ट्रपति आरिफ अल्भीलाई सुझाव दिएका थिए । त्यसलाई सदर गर्दै राष्ट्रपतिको सचिवालयले ‘राष्ट्रिय सभा विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझाव राष्ट्रपतिले संविधानअनुसार अनुमोदन गरेको,’ जनाएको थियो । संसद विघटनपछि पाकिस्तानी सर्वोच्च अदालतले विघटनलाई असंवैधानिक ठहर गर्दै पाकिस्तानी संसद् पुनस्स्थापना गर्दै बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*